युएसनोपाल पोष्ट डटकम
अमेरिकाका ग्यास स्टोरमा धेरै नेपालीहरुले काम गर्छन् । काम सगै सर्तकता नअपनाउदा धेरैले ज्यान गुमाउन बाध्य छन् । झन्डै वर्ष दिन अघि टेक्सासको ग्रारल्याण्डमा नेपाली युवा ३५ वर्षिय मनिष पाण्डेलाई लुटेराहरुको समुहले आक्रमण गरी हत्या गरे । आफन्तको स्टोरमा क्र्लकको काम गदै आएका उनलाई काम सकेर मध्यरातमा स्टोर बन्द गर्ने लाग्दा हत्या गरेका हुन । केही वर्ष यता अमेरिकाका विभिन्न राज्यहरुमा ग्यास स्टोरमा काम गर्ने नेपाली युवाहरु लुटेराको निसानामा परेर अनाहकमा यसरी नै ज्यान गुमाउन बाध्य भएका छन् । त्यसो त यस्ता ग्याँस स्टोरमा अधिंकाश नेपालीहरुले नै काम गरेको पाईन्छ । नेपालीसंगै भारतीय र एसिया क्षेत्रका कामदारहरु पनि ग्यास स्टोरमा काम गरेको पाईन्छ । विशेषगरी यस्ता स्टोरमा उनिहरुले क्लर्कको काम गदैं आएका छन् । प्राय यस्ता स्टोरहरुमा एक्लैले काम गर्नुपर्ने भएकाले पनि लुटेराहरुको निसानामा पर्ने गरेको छ । एकान्त स्थानमा संचालनमा रहेका ग्याँस स्टोहरु लुटेराहरुले ‘टार्गेट’ बनाउने गरेका छन् । लुटेराहरुलाई एक्लै काम गर्ने स्टोरमा लुटपाट मच्चाउन सहज भईदिएको छ । अधिकांश यस्ता घटनाहरु रातको समयमा हुदै आएको पाईन्छ ।
तर दुई वर्ष अघि टेक्सासकै डेन्टनमा भने दिउसोको समयमा आफनै स्टोरमा काम गरिरहेको वखत समिरा शिवाकोटीको हत्या भएको थियो । ३० वर्षिया शिवाकोटीलाई लुटेराले गोली हानी हत्या गरेको थियो । हत्या गरिएको समयमा शिवाकोटीको एक छोरी नौ महिना र अर्की छोरी तीन वर्षकी थिइन । पत्नी वियोगबाट पीडित भएका उनका श्रीमान नवराजको पत्नी हत्याको झन्डै १४ महिनापछि टेक्सास नजिकैको राज्य ओक्लाहोमा असमायकि निधन भएको थियो । सुनौलो सपना सहित सपरिवार अमेरिकामा व्यापार व्यवसाय गरेर बसीरहेको त्यो परिवारलाई लुटेराले तहसनहस पारिदिएको छ । अबोध नानीहरुको पालनपोषणको जिम्मा नवराजको दाजुको परिवारले लिएका छन् ।
नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सास राज्यमा अन्यत्र भन्दा नेपाली, भारतीय र पाकिस्तानीहरुले संचालन गरेका ग्यास तथा फुड स्टोरहरुको संख्या उल्लेख्य रुपमा रहेका छन् । नेपाली समाज टेक्सासका अनुसार टेक्सास क्षेत्रमा नेपालीले मात्रै संचालन गरेका ग्यास स्टोरको संख्या एक हजारको हाराहारीमा रहेको अनुमान छ । बढ्दो स्टोरसंगै त्यसमा काम गर्ने कामदारहरुमा नेपालीहरुको संख्या अधिक रहेको व्यवसाय संचालन गदै आएका समाजका अध्यक्ष सुमन थापा बताउछन् । उनले लुटपाटका घटनाहरु भइरहने बताए ।र् तालिमको अभावमा स्टोरमा कामदार माथि आक्रमणका घटना हुने गरेको छ’ उनले भने– ‘लुटेरासंग जोरि नखोज्ने हो भने ज्यान जाने संभावना कमै हुन्छ । उनका अनुसार लुटेराको अनुहारमा नहेर्ने, हात माथि गरिदिने, रजिष्टर खुला गरिदिने र फोन चलाउने कार्य लुटेरा आएको बेला गर्न नहुने उनले सुल्झाए । स्टोरहरुमा कति संख्यामा नेपाली मारिएका छन् भन्ने अहिलेसम्म यकीन तथ्याङ्क भने भेटिदैन । यस बारेमा अमेरिकाको डिसी स्थित नेपाली दुतावास संग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । स्टोरको अलवा एकान्त ठाउँमा पनि नेपालीहरु बन्दुकको निसानामा पदैं आएका छन् । लुटेराले पहिलो आक्रमणको योजना बन्दुकबाट नै बनाउदै आएका छन् । केहीले चक्कुप्रहार गरेर पनि लुटेर हत्या गरेका घटनाहरु भेटिन्छन् । टेक्सासमै २००६ को एक घटनामा स्टोरमा लुटपाट गरेपछि नेपाली युवा प्रकाश कोइरालाई आगो लगाई हत्या गरेका थिए । स्टोरबाट लुटेराले लुटेपछि केहीले कुटपीट गरेर छाडछन् भने अधिकांशले हत्यानै गर्छन् । हतियारले सुसज्जीत भई आएका लुटेरासंग भिड्न जाँदा समेत केही नेपालीहरुले ज्यान गुमाउनु परेको छ । स्टोरहरुमा काम गर्ने नेपालीहरुलाई पेस्तोल देखाएर धम्काउदै कुटने र पिट्ने घटनाहरु भइरहे पनि बाहिर आउदैनन् । अमेरिकामा अन्य गोल्किाण्डका घटनाहरु पनि उतिकै मात्रमा बढ्दो छ ।
टेक्सासकै अर्भिङमा पोखराकै २४ वर्षीया ज्वाला कार्कीलाई आफनै अर्पाटमेन्ट भित्र लुटपाट गर्ने क्रममा केही महिनाअघि गोली प्रहार गरी एक अश्वेत युवाले घाईते बनाएका थिए । उनलाई शरीरका विभिन्न आठ ठाउँमा लुटेराले गोली प्रहार गरेको थियो । गंभीर घाईते भएकी उनको उपचारका लागी नेपाली समाज टेक्सासले सहयोग संकलन गरेको थियो । अरु क्षेत्रमा हुने हत्या श्रृखलाको तुलनामा ग्यास स्टोरमै बढी हुदै आएको छ । अहिलेसम्म ग्यास स्टोरमा भएका घटनाहरुमा मारिने नेपालीहरु अधिकांश अश्वेत अमेरिकन लुटेराहरुको समुह नै देखिन्छ । हरेक जसो घटनामा उनिहरुको संलग्नता बढी देखिन्छ । यस्ता जातीसंग नेपालीहरुमा त्रास हुने गरेको छ । प्रहरीले सार्वजनिक गरेका भिडियोहरुमा उनिहरुकै अनुहार सार्वजनिक हुँद आएको छ । यसरी घटना घटाउनेहरु केही उमेर हदका कारण कार्वाहीको दायरामा समेत आउदैनन् । ग्यास स्टोरमा काम गर्ने प्राय कागजपत्र बिहिन नेपाली, विद्यार्थी र कागजात भएका पनि छन् । धेरै घन्टा काम गर्न पाईने र आम्दानी पनि सोही अनुरुप हुने भएकाले पनि ज्यान जोखिममा हालेर पनि नेपालीहरु स्टोरमा काम गर्न बाध्य छन् । पाँच महिना अघि नेपालबाट डिभी परेर आएका एक युवा पाकिस्तानीको स्टोरमा काम गदै आएका थिए । काम गरेको एक साता मै उनी लुटेराको जम्काभेटमा परे । ‘हात उठाएर नगद दिएपछि कन्चटमा पेस्तोल तेर्साएर छाड्यो’ आफनो नाम उल्लेख नगर्ने शर्तमा उनले भने– ‘बालबाल भाग्यले बाँचे ।’ उक्त घटनापछि उनले ग्यास स्टोरको काम छाडेर कम्पनीमा काम थालेका छन् । स्थलमार्ग हुदै गैरकानुनी कामदार र विद्यार्थीलाई भने अन्यत्र काम नपाइने भएकाले असुरक्षीत महसुस गर्दा–गदै पनि ग्यास स्टोरमै काम गर्नु परेको छ । केहीले भारतीय र नेपालीले संचालन गरेका होटल रेष्टुरामा गर्छन् । विद्यार्थीहरुलाई पढाई खर्च जुटाउन घन्टा धेरै पाईने भएकाले पनि ग्यास स्टोरमा ज्यानको प्रवाह नगरी काम गर्न विवश छन् । ‘लुटपाट र आक्रमणका घटना बढ्दो छ’ लामो समय देखि स्टोरमा काम गरेर अनुभव बटुलेका स्टोर म्यानेजर नेत्र पौडेल भन्छन्–‘अलिकति सर्तकता अपनाएन भने अपराधीको निसानामा पर्न सकिन्छ ।’उनले लुट्न आउने आक्रमणकारीसंग लड्न र भिड्न नहुने बताए । लुटेरासंग जाई लाग्दा ज्यान जाने क्रम बढी हुने गरेको छ । झन्डै तीन लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको अनुमान गरिएको अमेरिकामा ग्यास स्टोर संगै खाद्य स्टोरसंगै कम्पनी रेष्टुरा, सपिङ मलहरुमा नेपालीहरुले काम गदै आएका छन् ।
अमेरिकामा बन्दुक राख्ने सहज कानुन र जथाभावी चलाउने परिपाटीले अपराध बढ्दैछ । यही बन्दुकको सहजताले ग्यास स्टोरहरुमा लुटेराहरुलाई बन्दुक बोकेर जान सहज बनाई दिएको पाईन्छ ।पछिल्लो समय बढ्दै गएको गोलीकाण्डको विरोध र त्यसको नियन्त्रणका लागी प्रदर्शन समेत हुदै आएको छ । विशेष गरी यहाँका विद्यालय,चर्च, कन्र्सट र सार्वजनिक समारोहमा ठूला गोली काण्डहरु भएका छन् । हालै सार्वजनिक भएको एक तथ्याङ्क अनुसार अमेरिकी विद्यालयहरुमा ३२ वटा गोलीकाण्डहरु भएका छन् । जसमा सयौले ज्यान गुमाएका छन् । विद्यालयहरुमा बढेको गोलीकाण्डले अहिले अमेरिकाभरि बन्दुक राख्न पाउने कानुनको विरोधमा बहस समेत सुरु भएको छ ।

फाइल फोटो–फेसबुक

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected