बाल्टिमोर-बाल्टिमोरको नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधि नेपालीहरु कोरोना भाइरस विरुद्ध जनचेतना जगाउने र यो संकटका बेला सरकारले उपलब्ध गराएको सेवा,सुविधा र सहुलियत लिन आवश्यक समन्वय गर्न अग्रसर भएका छन् । हालै मेरिल्याण्ड राज्यका सांसद (डेलिगेट) ह्यारी भण्डारीको पहलमा भण्डारीको सल्लाहकार समूहले आयोजना गरेको कन्फरेन्स कल बैठकमा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधि नेपालीहरुले कोरोनाको बढ्दो संक्रमणबाट सुरक्षित हुन र आवश्यक जनचेतना जगाउनका लागि स्वयम्सेवा गर्न आफुहरु तयार रहेको समेत बताए ।

टेली कन्फरेन्स बैठकमा अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले राजदूतावासले गरिरहेका कार्यबारे जानकारी गराउनु भएको थियो । नेपाली समुदायसंग मिलेर यो संक्रमणका विरुद्ध जनचेतना र आवश्यक सतर्कता अपनाउन दूतावासले काम गरिरहेको भन्दै यसका लागि दूतावासले छुट्टै टेलिफोन लाइन र इमेलको समेत व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणपछि नेपाल र अमेरिकी सरकारले जारी गरेका कतिपय निर्देशनले अमेरिकामा रहेका नेपालीहरु कसैलाई असुविधा परेको भए त्यसका बारे सहजीकरण गर्न दूतावासले पहल गर्ने जानकारी दिदैं त्यसका लागि दूतावासमा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो ।

कन्फरेन्स बैठकमा अमेरिकी जनगणना कार्यालयका तर्फबाट ली होसबेरीले जनगणनाको महत्व र आवश्यकता बारे अवगत गराएका थिए । यसैगरी डेलिगेट भण्डारीले सरकारले गरिरहेको सबैखाले पहलका बारे चर्चा गर्दै सबैजना मिलेर यो संक्रमणका विरुद्ध जनचेतना जगाउनुपर्ने बताए । राज्यमा आपतकालीन स्थिति लागू भएको र व्यापार,व्यवसाय समेत बन्द गर्न आदेश भएका कारण यहाँ व्यवसाय गरिरहेका,काम गरिरहेका सबैजना प्रभावित भएको भन्दै डेलिगेट भण्डारीले सरकारले उपलब्ध गराउने विशेष बेरोजगार सुविधा र व्यवसायीहरुका लागि राज्यले उपलब्ध गराउने विशेष सहुलियत कर्जाका बारे चर्चा गरेका थिए । सोही क्रममा डेलिगेट भण्डारीको सचिवालयको तर्फबाट साना व्यवसायीहरुले प्राप्त गर्ने सहुलियत कर्जाका बारे गौतम दाहाल,बेरोजगार सुविधा बारे दीपा गुरुङ र अन्य सुविधाका बारे प्याट्रिक टेलरले प्रकाश पारेका थिए ।

करीब ४० जना सहभागी कन्फरेन्स कल बैठकमा नेप्लिज अमेरिकन एलायन्स फर एक्सनका तर्फबाट अर्जुन हमालले पहिलो चरणमा तत्काल गर्नुपर्ने पहलकदमीका लागि विभिन्न चार श्रोत एवं समन्वय समूह बनाउने प्रस्ताव गरेका थिए । सोही संस्थाका महासचिव डाक्टर कृष्ण विष्टले संचालन गरेको कन्फरेन्स कल बैठकका सोही संस्थाकै डाक्टर उत्तम गौलीले नेपाली समुदायले संयुक्त रुपमा तत्काल गर्न सक्ने कार्य बारे आफ्नो सुझाव प्रस्तुत गरेका थिए । छलफलमा तत्काल एक टास्क फोर्स गठन गरेर सचेतना र पूर्व सावधानीका लागि समुदायलाई सुसुचित गर्नुपर्ने विषय पनि उठान भएको थियो ।

सहभागीहरुले कोरोना भाइरस संक्रमणका कारण कोही प्रभावित भए हाम्रो समुदायले के कसरी सामना गर्न सक्छ भन्ने बारे आवश्यक सही जानकारी अवगत गराउनुपर्नेमा जोड दिएका थिए । हालसम्म नेपाली समुदायका कोही पनि सदस्य संक्रमित नभएता पनि यसको बढ्दो जोखिम र संक्रमणबारे गम्भीर हुनुपर्ने साझा निष्कर्ष थियो  । यसका लागि नेपालीभाषी चिकित्सकहरुले आवश्यक सही जानकारी र सूचनाको संकलन गरी समुदायलाई अवगत गराउनुपर्ने,कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमका कारण व्यवसाय बन्द भएर बेरोजगार भएका समुदायका सदस्यहरुले यो अवस्थामा प्राप्त गर्ने सरकारी सहुलियत र सुविधा अनि व्यवसायीहरुले संघ र राज्य सरकारबाट प्राप्त गर्ने राहतका बारे समन्वयात्मक पहल गर्नुपर्ने,घर,गाडी तथा अन्य ऋणको मासिक किस्ता तिर्नका लागि सरकारले घोषणा गरेको सहुलियत सुविधाका बारे समुदायलाई सही सूचना प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

शनिवारको छलफलमा महावाणिज्यदूत प्रेमराजा महत,एनआरएन अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी,एनआरएन अमेरिकाका अध्यक्ष सुनील साह,उपाध्यक्ष कृष्णजीवि पन्थ, बोर्ड सदस्य अमर छन्त्याल,एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरे,बानाका अध्यक्ष सुबोध पन्त,एनआरएन आइसीसीका संस्थापक उपाध्यक्ष डाक्टर श्याम कार्की,व्यवसायी एवं सामाजिक अभियन्ताहरु कृष घिमिरे,तरुण पौडेल,रमेश भट्टलगायत सामाजिक अगुवाहरु सहभागी थिए । यस किसिमको छलफल जारी राख्ने निर्णय भएको छ । शनिवारको छलफलपछि तत्काल आफ्नो निर्वाचन क्षेत्रको कार्यालयलाई श्रोत केन्द्रको रुपमा संचालन गरी आवश्यक प्रक्रिया अघि बढाउन आफुले राज्य सरकार र काउन्टी प्रशासनसंग समन्वय गरिरहेको डेलिगेट भण्डारीले जानकारी दिएका छन् । 

मेरिल्याण्डमा आइतवार साँझसम्म २४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने यही संक्रमणका कारण तीन जनाको निधन भैसकेको छ । यद्यपि हालसम्म नेपाली समुदायका व्यक्तिहरु संक्रमित भएको चाहिं पाइएको छैन । यद्यपि यसको जोखिम भने बढ्दो छ । 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected