राजु गिरी/पाेखरा
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।
त्यसैगरि दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले नेपाललाई रजत पदक दिलाएका छन् । साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए । यो सँगै नेपालले ट्रायथलनमा कुल ६ पदक प्राप्त गरेको छ ।
नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक हात पारेको छ । त्यसैगरि श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदकमा चित्त बुझाएको छ । कुल ५ स्वर्ण सहित १५ पदकका लागि साग अन्तरगतको ट्रायथलनमा तीन देशको सहभागिता रहेको थियो ।
बुधबार भएको मिक्स टिम रिले ट्रायथलनमा भारतको तर्फबाट प्रग्न्या मोहन, एम एस आदर्श, सोरोजिनी देवी थाउदम र विश्वरजित साइखोमले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुले सहभागिता गरेका थिए । त्यसैगरि श्रीलंकाको तर्फबाट पुभिनी काहान्दावाला, आशंका निलवीरा, गयाना दशनाएके र छलका विक्रमारच्चीको सहभागिता थियो । भारतको टिमले निर्धारित दुरी १ घण्टा ३५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरेको थियो । त्यस्तै १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गर्न सफल भएको थियो । श्रीलंकाको टिमले १ घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो । मिक्स टिम रिले ट्रायथलनका लागि ३ सय मिटर दुरीको पौडी, ७.५ किलोमिटरको साईकिलिङको दुरी र २.५ किलोमिटर दुरीको दौड तय गरिएको थियो ।
ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् । व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैया दिने घोषणा गरेका हुन् । त्यसैगरि गण्डकी प्रदेश सांसद दिपक कोईरालाले समेत पदक विजेता खेलाडीलाई नगद दिने घोषणा गरेका छन् । उनले स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैया दिने घोषणा गरेका छन् ।
पदक वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गरेका थिए ।
१३औं सागको ट्रायथलनमा नेपालले विगतको तुलनामा निकै राम्रो खेल देखाएको छ । खेल सामाग्रीको अभावमा पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन देखाएका छन् । यस अघिको १२औं सागको ट्रायथलनमा १ रजत र १ कास्य मात्र हात पारेको थियो ।
तस्विरहरु ः साग पोखरा