पोखरा-गायन रियालिटी शो नेपाल स्टार शनिबारदेखि प्रशारणमा आउने भएको छ । नेपालका लागि नेपालको आफ्नै फम्र्याटमा बनेको गायन रियालिटी शो अब हरेक हप्ता शनिबार प्रशारण हुने नेपाल टेलिभिजनले जनाएको छ । यो नेपाल टेलिभिजनको आफ्नै निर्माणमा प्रशारण हुने गायन रियालिटी शो हो ।
‘हामी नेपाली, हाम्रो आवाज’को नारासहित प्रशारणमा आउने कार्यक्रममा देशभरका गायन प्रतिभाहरुको सहभागिता रहने नेपाल टेलिभिजनले जनाएको छ । ‘नेपालको आफ्नै गायन रियालिटी शो’ भनिएको यो गायन प्रतिस्पर्धाबाट एकजना उत्कृष्ट विजेता छनौट हुनेछन् । जो नेपालको पहिलो ‘नेपाल स्टार’ कहलिनेछन् ।
गायन रियालिटी शो ‘नेपाल स्टार’लाई ‘की एड्भरटाइजिङ’सँगको सहकार्यमा नेपाल टेलिभिजनले निर्माण गरेको हो । र, यो रियालिटी शो को मार्केटिङको सम्पूर्ण जिम्मा ‘की एड्भरटाइजिङ’ले नै लिएको छ । ‘अहिले चलिरहेका विभिन्न फ्रेन्चाइज रियालिटी शो भन्दा फरक स्वाद दर्शकले यसमा पाउनुहुनेछ । र, यो नेपालका लागि नेपालीले नै बनाएको फम्र्याट भएकोले पनि दर्शकलाई अग्र्यानिक लाग्न सक्छ । हामीलाई दर्शकले मन पराईदिनुहुन्छ भन्नेमा पुर्ण विश्वास पनि छ ।’ की एड्भरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्रकुमार रिजालले भने ।
नेपालको आफ्नै गायन रियालिटी शो भएपनि यसको गुणस्तर भने अन्तराष्ट्रियस्तरकै रहेको नेपाल टेलिभिजन र की एड्भरटाइजिङको दाबी छ । कार्यक्रमको स्तरसँगै रियालिटी शो का लागि बनाईएको भव्य सेट कुनै अन्तराष्ट्रिय फ्रेन्चाइज रियालिटी शो को तुलनामा कम नरहेको यसको निर्माणपक्षले बताएको छ ।
संचारकर्मी समेत रहेका रवि श्रेष्ठ गायन रियालिटी शो ‘नेपाल स्टार’का निर्देशक हुन् । उनले यसअगाडि मुन्द्रको कमेडी क्लबको निर्देशन पनि गर्दै आएका छन् । जुन् की एड्भरटाइजिङकै अर्काे विशेष कार्यक्रम पनि हो । यो गायन रियालिटी शो को मूख्य निर्णायकहरुमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्त रहेका छन् । कार्यक्रमको होस्टमा संजोग बस्याल र निशा पाठक रहेका छन् ।
‘नेपालमा थुप्रै गायन प्रतिभाहरु छन् र उनीहरुलाई विशेष प्लेटफर्मको आवश्यकता थियो । र, हामीले त्यस्ता गायन प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च खडा गरेका छौँ । यो सबै नेपालीहरुको लागि विशेष हुनेछ ।’ कार्यक्रमका निर्देशक रवि श्रेष्ठले भने–‘प्रतिभाहरुले यो रियालिटी शो मा सहभागी भईरहँदा शानदार पुरस्कार जित्नुका साथै थुप्रै अवसरहरु हात लाग्ने वातावरण पनि बन्छ ।’
वाइ वाइ चाउचाउको मूख्य प्रायोजनमा हुन लागेको यो रियालिटी शोको पावर्ड वाइ टाइटलमा वृज सिमेन्ट, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स पार्टनरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, रेड कार्पेट पार्टनरमा यती कार्पेट, डिजिटल पार्टनरमा की डिजिटल र रेडियो पार्टनरमा हिमालय एफएम नेटवर्क रहेका छन् ।